पूर्वप्रधानमन्त्री थापाको शव आजै काठमाडौं ल्याइने

२०७२ बैशाख ३
महेश भुसाल अर्घाखाँची


राजकीय सम्मान दिने सरकारको तयारी

उपचारका क्रममा भारतको मेदान्त अस्पतालमा निधन भएका पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको पार्थिव शरीर आज अपरान्ह काठमाडौं ल्याउने तयारी भएको छ। बुधबार राति भारतको हरियाणास्थित मेदान्त अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो। थापाको निधनपछि राप्रपा केन्द्रीय समितिको आकस्मिक बैठक बिहीबार बिहान अध्यक्ष पशुपतिशम्शेर राणाको निवासमा बसेको छ । अपरान्ह विमानमा ल्याइने थापाको पार्थिव शरीरलाई सिधै उनको निवास मालीगाउँमा लगेर श्रद्धाञ्जलीका लागि राखिनेछ। मन्त्रिपरिषद्को निर्णयपछि मात्रै भोलि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सार्वजनिक स्थलमा राखिने छ। भोलि नै उनको अन्तिम दाहसंस्कार हुने छ। पाँचपटकसम्म प्रधानमन्त्री भएका वरिष्ठ राजनीतिज्ञ थापालाई सरकारले राजकीय सम्मान दिने तयारी गरेको छ। त्यसका लागि मन्त्रिपरिषद्को आजै आकस्मिक बैठक बस्ने सम्भावना छ । ८८ वर्षीय थापा पेटमा समस्या देखिएपछि शल्यक्रियाका लागि मेदान्त अस्पताल गएका थिए। उनको चैत २७ गते शल्यक्रिया गरिएको थियो। शल्यक्रिया सफल भएपछि उनलाई भीआईपी कक्षमा राखिएको थियो। सूर्यबहादुरका नाति सिद्धार्थ थापाले बुधबार राति अबेर अन्‍नपूर्ण पोस्ट्लाई टेलिफोनमार्फत जानकारी गराएअनुसार बुधबार दिउँसोदेखि उनको स्वास्थ्यमा एकाएक समस्या देखिएको थियो। त्यसपछि उनलाई भेन्टिलेटरमा राखिए पनि स्वास्थ्यअवस्थामा सुधार आउन सकेन। मेदान्तका डा. आदर्श चौधरी नेतृत्वको टोलीले थापाको शल्यक्रिया गरेको थियो। 

थापाको पार्थिव शरीरलाई बिहीबार विमानमा काठमाडौं ल्याउने तयारी भएको जानकारी नाति सिद्धार्थले दिए। धनकुटाको मुगा गाविसमा जन्मिएका थापा पाँचपटक मुलुकको प्रधानमन्त्री भएका थिए। उनी पञ्चायत कालमा तीनपटक र बहुदलीय व्यवस्थाको पुनस्थापना अर्थात् २०४६ सालको राजनीतिक परिवर्तनपछि दुईपटक प्रधानमन्त्री भएका थिए। हक्की स्वाभावका थापाकै प्रधानमन्त्रीकालमा मुलुकमा २०३७ सालमा पञ्चायत व्यवस्थालाई निरन्तरता दिने कि बहुदलीय व्यवस्थामा जाने भन्ने विषयमा जनमतसंग्रह भएको थियो। उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष भएका थिए। बहुदलीय व्यवस्था पुनस्थापनापछि थापाको समेत सक्रिय सहभागितामा राप्रपा गठन भएको थियो। मेदान्त जानुअघि उनले दलका नेताहरूलाई घरमै रात्रिभोज दिएर जसरी पनि सहमतिमा संविधान बनाउन दबाब र सुझाव दिएका थिए। उनी संविधानसभामा समानुपातिकतर्फबाट सभासद् थिए। थापा उपचारका लागि मेदान्त गएपछि प्रधानमन्त्री सुशील कोइरालाले पत्र पठाएर स्वास्थ्यलाभको कामना गरेका थिए। स्वास्थ्यमन्त्री खगराज अधिकारीले मेदान्त अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।



Comment
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter