लेखक – महेश भुसाल
शिर बढेछ निक्कै, चुरी फुरी भएछ ।
हिजो जन्मेकी नानी आज, टुहुरी भएछ ।।
काँ हो काँ एउटा, भगवान छ भन्छन्...
त्यो पनि आजभोली, निष्ठुरी भएछ ।।
(कि सम्झीन् सानीले बाडुल्की चल्यो,....................स्वर – स्वरुपराज आचार्य)
सकियो बरै नेपालीको नेपाल सकियो, १९९० सालको इतिहास फेरी दोहोरियो । कतिले संसार देख्नै नपाइ गर्भमै मरेँ, कतिले संसारलाई चिन्नै पाएनन्, कतिले ठूलो सपना बोकेर शहर पसे, कठै आज त्यही शहर उनीहरुको लागि जहर भइदियो । आज सुन्दै छु करिब ३० लाख मानिसहरु बसोबास गर्ने देशको राजधानी काठमाडौँ एउटा डरलाग्दौ मसानघाट भएको छ रे । मर्ने त मरिसके बाँच्नेलाई पो सास्ती भयो नी बरै, भरै के खाने थाहा छैन, राती कहाँ बस्ने त्यो पनि थाहा छैन । कुनै रेडियोेले भूकम्प पिडितसँग लिएको अन्र्तवार्ता सुनेको थिएँ एकदिन, रेडियो कर्मीले सोधे ‘‘के दियो सरकारले ?’’ तब भूकम्प पिडितले रुदै भने ‘‘हाम्रो १२ जनाको परिवार छ एउटा त्रिपल दिएथ्यो सरकारले त्यो पनि कति जनालाई पुग्थ्यो र ? अब बर्खा आउँदै छ, सायद बाँचिदैन होला– हामी मृत्यु पर्खिरहेका छौँ ।’’ मैले यस कार्यक्रमको प्रोमो बनाएको छु यो साँच्चिकै सतिले सरापेको देश हो भनेर – एउटा डि.भि. परेर अमेरिका जान पाउँदा एउटा नेपाली खुसीले पार्टी दिन्छ किनकी उ नेपाल बस्न चाहादैन ।
यो एउटा यस्तो देश हो भूकम्पले काठमाडौ लगायतका छिमेकी जिल्लाहरु सँगै
सर्वस्व सखाप हुदाँ केही व्यक्तिहरु भने धरहराको इटा चोर्नमा व्यस्त भए ।
खाने कुराको विकल्पमा केही नहुदाँ टुडीखेलमा बसेका भूकम्प पिडितहरुले पानी र
चाउचाउ किन्छन् भनेर नालायक व्यापारीहरुले कालोबजारी गरि त्यसको मूल्यमा
तेब्बर पुर्याइदिए, अनी आफ्नो ज्यान जोगाउनको लागि राजधानी छोडेर तछाड–मछाड
गर्दै भाग्न खोज्दा, तिनै भूकम्प पिडितको मुटुमा फेरी भूइचालो ल्याइदिए
गाडी धनीहरुले – गाडी भाडा तेब्बर पुर्याएर, कठै यस्ता नर–पिचासहरुलाई, नेपाली भन्न पनि सरम लागेर आउँछ ।
हे नेपाल आमा सकियो तिम्रो देश सकियो, तिम्रो पालामा बनेको धरहरा पनि मर्यो नि अस्तीको भूकम्पले । उसले मर्नु अघि भनेथ्यो रे ‘म ढलेँ भनेर चिन्तित नहुनु, किनकी म त यसै बुढो भइसकेको थिएँ । नेपालीको सरदर आयु भन्दा अलिकति बढि बाँचेर मैले देखाइदिएँ, म ढले भनेर आफ्नो शिर नझुकाउँनु यो मर्माहत घडिमा रुनको लागि आँशु सम्म पनि छैन नेपालीको भाग्यमा । सायद भूकम्पले पिडित भएर टुडिखेल र रगंशालामा बसेका कयौ मानिसहरु आफ्नो तिर्खा मेटाउनको लागि भन्दा पनि सकिएको आँशु भर्नको लागि पानी किन्न गएहोलान् तर त्यही पानी रुपी आँशुको मूल्य इतिहासकै सबैभन्दा महङ्गो तिर्नुपर्यो उनिहरुले । म यि बाक्यहरु बोलिरहदाँ रोइरहेको छु, म भाग्यमानी ठान्छु आफुलाई किनकी मैले सित्तैमा रुन पाएको छु, यो देशको दर्दनाक पिडा देखेर.....
परिवारलाई मृत्युको, भेष पठाएँ ।
भूकम्पले मार्यो भन्दै, केश पठाएँ ।।
जमिन मुनी पुरिएनी, सकी नसकी चिच्याएर..
जिउँदै छु म भन्ने, सन्देश पठाएँ ।।
(सानीले मैले पठाको चोली लाइन् होला........... ............... ....)
मर्न भन्दा बाँच्न कठिन हुदो रहेछ भन्ने कुराको प्रमाणित भएको छ आज । मान्छे सकियो, परिवार सकियो, गाउँ नै सकियो । हे प्रवासी तिमी परदेश जाँदा उभिएको घर आज सदाका लागि मरिसकेको छ । सुन्दै छु काठमाडौ टुडिखेलमा बसिरहेका भूकम्प पिडितहरुमा पनि महामारी फैलन थाल्यो रे । गर्नु गर्यो नि यो भूकम्पले, मलेसियाबाट आफ्नी आमाको काजक्रिया गर्न आएका कृष्ण कै काजक्रिया भयो रे, भूकम्प गएको ८० घण्टापछि जिवितै उद्दार भएका अर्घाखाँचीका ऋषी खनालले आफ्नै पिसाब खाएर बाँचे रे, धेरैले परिवारका सदस्य गुमाए, लाँखौ घरबार बिहिन भए । मान्छेले जिवनभर नविर्सीने त्यस्ता धेरै वियोगका दृश्यहरु देखे । आफन्त गुमाउने, घाइते हुने र परिवार विहिन हुनेहरुको संख्या लाँखौ नाघिसक्यो ।
विनाशको यो क्रम अनुमानै गर्न नसक्ने छ, भूकम्पमा परि बाँच्नेहरुले ठूलो डर र क्राससँगै भोग्नुपरेको विचल्ली कहालीलाग्दो छ, विनाशकारी भूकम्पको केन्द्र विन्दु रहेको गोरखा जिल्लाको दृश्य झन कहाली लाग्दो छ । गोरखा जिल्लाको ‘वारपाक’ गाउँ पुरै ध्वस्त हुदाँ मलामी जानेसम्म मान्छे भएनन् भन्ने खबर सुन्दा मुटु भित्रको रगत नै उम्लीएर आउँछ । सदरमुकाम वरपरका अधिकाशं घरहरु सग्ला छैनन् । सुत्केरी, बालबालिका या वृद्ध जो सुकै हुन् खुल्ला चौरमा रात विताउन वाध्य छन्, अन्नपात केही जोगाउन नसक्दा उनीहरु अहिले पनि पूर्ण रुपमा अरुले पुर्याइदिएको राहत सामान चाउचाउ र चिउरा खाएर छाक टार्न विवस भएका छन् ।
गोरखा पल्साङ गाउँका ५२ बर्षिय लोकबहादुर गुरुङ अहिले पनि सपनामा बर्बराउँछन् रे । घरको कापमा पुरिएर मृत्यु भएका आफ्ना दुई जना परिवारको अन्तिम संकार सकाएर फर्केका उनी आफैसँग प्रश्न गर्दै छन् रे, भएको सम्पत्ति यही एउटा घर थियो, खेतबारी छैन अव छोरा नातीलाई पाल्ने कसरी हो ? घर बनाउँदाको ऋण तिर्ने कसरी हो भन्दै पुर्पुरो समाउदै छन् रे । फेरी अर्का बाजे भन्छन् बनाएको घर एकदिन पनि बस्न नपाइ ध्वस्त भयो यि यस्तो बारीको पाटोमा बास भएको छ, दुखबाट राहत पाउन पैसा कमाउन गएका छोरा बिदेशमै छन् उनले चिन्ता नलिनु भनेका छन् रे, तर गाउँ नै सखाप भएको भोगेका बाबुको मन मान्दैन रैछ । उनले फेरी भने ‘‘छोराले चिन्ता नलिनु भनेको छ, तर गाउँको हविगत देखेर कसरी मन थाम्नु, मर्ने त मरिसके उनिहरुले त शान्ती पाए नि, बाँचेका हामीहरु पो मरेसरह भइरेका छौँ, अब यो जुनी खुल्ला चौरमै बित्ला जस्तो छ, खोइ कसले बनाइदेला र हाम्रो घर ?’’
बाबाले मलाई हेर्ने, रहर सुनाए ।
भूकम्पले सखाप भएको, शहर सुनाए ।।
रुदै रुदै एकाबिहानै, फोन गरेर...
तेरी आमा मरिन् भन्ने, खबर सुनाए ।।
(आमाले गुन्द्रुक किनी मामालाई साँचिन् होला........... ............)
Comment