बसन्तपुर एसिड काण्डका अभियुक्त सार्वजनिक

२०७१ चैत्र ६,
महेश भुसाल अर्घाखाँची

बसन्तपुरमा ट्युसन पढिरहेका किशोरी संगीता मगर र सीमा बस्नेतमाथि एसिड छ्याप्ने युवकलाई प्रहरीले पक्राउ गरि शुक्रबार सार्वजनिक गर्‍यो । रामेछापको फुलासी ८ घर भई काठमाडौको टोखा नगरपालिका विनायक मार्गमा बस्दै आएका जीवन बिकलाई प्रहरीले बिहीबार राती उनकै कोठाबाट पक्रेको थियो ।

 

पत्रकार सम्मेलनमै मुर्छित


अभियुक्त जीवन विक प्रहरीले गरेको पत्रकार सम्मेलनमै मुर्छा परे । उनले लगाएको कालो मास्क प्रहरीले खोलिदिएपछि उनले पुलुक्क पत्रकारलाई हेरे र मुसुक्क मुस्काए । ‘यता हेर त हिरो ?’ पछाडिबाट एक जना फोटो पत्रकारको आवाज आयो । त्यसपछि घोसोमुन्टे लगाएका बिक भक्लक्क त्यही ढले । अभियुक्त विक मुर्छा परेपछि उनलाई प्रहरीले तत्काल अस्पतालमा लग्यो । मुर्छा परेपछि प्रहरीले उठाएर लैजाँदै उनको दाँत देखिइरहेको थियो र मुहार पनि हँसिलो थियो ।

 

कसरी भयो घटना 

 

प्रहरीका अनुसार २० वर्षका जीवन विक पहिले संगीताका परिवारजनसँगै डेरा गरी बस्दै आएका थिए । संगीताको परिवार र जीवनको परिवार २०६९ साल जेठदेखि झोंछेको एउटै घरमा डेरा गरी बस्दै आएका छन् । शुरुमा जीवनले संगीतालाई ट्यूशन पढाएका थिए । ट्यूशन पढाउने क्रममै दुवै जना एकआपसमा नजिक हुन पुगेको प्रहरीको दाबी छ । संगीताका बुबा आमा काम गर्न जान्थे भने कोठामा संगीताका भाइ सन्तोष हुन्थे । सन्तोषकै कारण उनीहरुको प्रेम सम्बन्धमा खटपट भएको थियो । उनीहरुको सम्बन्धलाई लिएर संगीता र विकको परिवारबिचसमेत खटपट भएको थियो ।

संगीताको परिवारबाट भएको अभिव्यक्तिले विकले मानमर्दन गरेको ठानी बदलाको भावनाले एसिड आक्रमण गरेको प्रहरी निष्कर्ष छ । प्रहरीको अनुसन्धानले भन्छ ‘बेला बेलामा संगीताको परिवारले गरेको गालीले विकले हेपिएको अनुभूति गरी पीडितको सौन्दर्यता र जीऊ ज्यानमा गम्भीर क्षति पुर्‍याउने उद्देश्य राखेको पाइएको छ ।’ प्रहरीका अनुसार संगीतालाई विरुप बनाउने योजना बिकले लामो समयअघि देखि नै बुन्दै आएका थिए । आमाबुबालाई ढाटेर भारतीय आर्मी हुन भारतमै बस्दै आएको बताएका जीवनले ०७१ सालको असोजतिरै संगीता र भाइ सन्तोषलाई आक्रमण गर्ने योजना बनाएका थिए । यद्यपि बेला बेलामा भारतमा जाँने आउने गर्थे जीवन । असोज यता उनले संगीता र सन्तोषलाई निशानामा राखेर आक्रमण गर्ने योजना बनाईरहेका थिए । शुरुमा उनले छडले हानेर अपाङ्ग बनाउछु भनेर सोचेका थिए तर पछि भारतीय च्यानल हेरेर एसिडले रुप विगार्ने थाहा पाएपछि तरिका बदले र बारम्बार टोखाबाट मास्क लगाएर पीडित बसेको एरियामा जाने–आउने गरिरहन्थे ।

 

फागुन १० गतेको घटना


प्रहरीलाई दिएको बयान अनुसार उनले आज चाहिं संगीतालाई अवश्य पनि सिध्याउँछु भन्ने निधो अघिल्लो दिन नै गरेका थिए । फागुन १० गते विहान ५ बजे नै मुख पनि नधोई झोलामा एसिडको बट्टा बोकेर टोखाबाट निस्किए जीवन । उनी माइक्रो चढेर जमल आए, इन्द्रचोकसम्म हिँडेर बसन्तपुर हुदै संगीता बसेको झोंछेतिर गए । कोही नदेखिपछि उनी बसन्तपुर डबलीतिर फर्किए । झोलामा एसिड बोकेर लखरलखर हिडिरहेका जीवन फर्कने तरखरमा थिए ।
 किन कि संगीता ट्युशन पढ्छिन् भन्ने जानकारी भएपनि कहाँ र कुन ट्युशन सेन्टर हो उनलाई थाहा थिएन । बसन्तपुरमा मास्क लाएर घुमिरहेकै बेला उनले ए प्लस ट्यूशन सेन्टरमा बत्ती बलेको देखे  । यसो नियालेर हेर्दा त्यहाँ संगीतालाई देखे र अर्को एउटी केटी पनि उभिएरहेको देखे । जो हेमू थिइन । जीवनले अब चाहिं एसिड हान्छु भनेर सोचेकै बेला अर्की एक जना केटी फेरि कक्षाकोठा भित्र छिरिन् । तीन जना भएपछि उनी एकैछिन बाहिरै रोकिए । पछि फेरि जे सुकै हुन्छ भनेर उनी कोठाभित्र छिरे र ५ सय मिलिलिटर जति एसिड संगीतालाई नै खन्याई दिए । त्यसो त उनले विभिन्न समयमा संगीता र उनका परिवारलाई एसिड छ्याप्ने प्रयास गरेपनि उनी असफल भएका थिए । असोजदेखि नै एसिड बोकेर हिँडेका उनले मौका पाईरहेका थिएनन् । बिकलाई सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा महानगरीय प्रहरी कार्यालयका आयुक्त एआइजी विज्ञानराज शर्माले भन्नुभयो ‘२०७१ साल असोजमा पुरानो बसपार्कबाट उनले एसिड किनेका थिए । उनले किनेको बोतलबाट ड्यूको बोतलमा हाल्ने क्रममा क्रममा पग्लिएर काम नदिएपछि त्यो नष्ट भयो । उनले दोस्रो पटक सोही पसलमा गएर एसिड किनेर कोठामा राख्यो । बोतलबाट छ्याप्दा सजिलो नहुने देखेर उनले हर्लिक्सको बट्टामा एसिड हाले, जो टोखाको एउटा चिया पसलबाट लिएको देखिन्छ ।’

 

आक्रमण पछि के भयो ?


जीवनले किशोरीलाई आक्रमण गर्नसाथ हर्लिक्सको बोतल ट्युशन सेन्टरको बाहिर फलिदिए । बसन्तपुर डबली हुँदै ठमेलमा पुगेपछि उनी माइक्रोबस चढेर कोठामा पुगे । त्यहाँ नुहाई धुवाई गरेपछि आफ्नो लामो योजना सफल भएको ठानी खाना खाएर आराम गरे । त्यसै दिन बेलुकी बिकलाई भाइ सुजनले फेसबुकमा सोध्यो । ‘दाइ संगीतालाई त एसिड छ्यापिएछ नि ?’ उनले कुराकानीका क्रममा भाइसँग पनि अनभिज्ञता जनाए । १० दिनसम्म काठमाडौंमै बसेपछि जीवन २० गते काठमाडौंबाट काँकडभिट्टा हुँदै सिक्किम पुगे । त्यहाँ उनलाई भारतीय सेनामा भर्ती गरिदिने भन्दै ५० हजार रुपैयाँ लिएका राजेश प्रधानलाई भेट्नु थियो । सिक्किममा राजेशसँग सम्पर्क नभएपछि जीवन २९ गते काठमाडौं फर्के र डेरामा गएर बसे । प्रहरी स्रोतका अनुसार उनले परिवारलाई भने भारतमै छु भनेर भ्रम छरिरहेका थिए । यसबीचमा उनले आफूले गरेको एसिड आक्रमणबारेको समाचार छापिएका अखबारहरु समेत संकलन गरेर राखेको भेटिएको छ । प्रहरीले उनको कोठाबाट क्यामेल माउन्टेन लेखेको कालो झोला, कालो मास्क, विभिन्न मितिका पत्रिकाहरु पनि बरामद गरेको छ ।  

 

को हुन जीवन विक ?


फुलासी ८ रामेछाप घर भई काठमाडौंको टोखा नगरपालिका विनायक मार्गमा बस्दै आएका २० वर्षका युवा हुन् जीवन बिक । बसन्तपुरको झोछेंमा बस्दै आएका उनको परिवार चिया पसल गर्छन् । अहिले पनि संगीताको परिवार र जीवनको परिवार एउटै घरमा छन् । ललितपुर कुपण्डोलको प्रगति स्कुलबाट एसएलसी पास गरेका उनले प्लस टु पनि त्यहिँबाट गरेका थिए । अहिले युथ क्याम्पसमा बिबिएसमा अध्ययनरत जीवन भारतीय सेना बन्ने सपना बोकेर हिँडिरहेका छन् । घरपरिवारलाई भारतको सिक्किममा बस्दै आएको भनेर ढाँड्न सफल जीवनले टोखाको बिनायक मार्गमा कोठा लिएका थिए र त्यहाँ झण्डै दुई बर्षदेखि एक्लै बस्दै आएका छन् ।



Comment
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter