२०७२ साल माघ ५ गतेको कार्यक्रम नमेटिने यादको सुरुवाती स्कृप्ट...

गल्ली गल्ली चोक चोकमा, धाउन पनि सकिदैन ।
कसैसँग चोखो प्रेम, लाउन पनि सकिदैन ।।
हैन यो दुनियाँको, कस्तो माया हो...
पाउन पनि सकिदैन, गुमाउन पनि सकिदैन ।।

(( न पाउन सक्छु तिम्रो माया, न बाँच्न सक्छु तिमी बिना..................))

बाँच्ने कि मर्ने भन्ने बिषयमा सधै धर्मसंकट परिरह्यो । मान्छेहरु आए गए पराई भए, रमिता देखाए । यसरी नै म सबैको प्रयोगात्मक साधन भइदिएँ । मैले कति यस्ता मान्छेहरु भेटेँ जो बोलाउँदा पनि फिटिक्कै बोलेनन् । मेरो चित्कारमा आफुलाई मौन राखेर कुन्नी कुन जन्मको ऋण तिरिरहे । अनी यस्ता मान्छेहरु पनि भेटेँ जो धेरै बोलेर कानमा कपास हाल्न बाध्य पनि बनाए । बिगत ३ बर्षदेखी कार्यक्रम चलाउँदै आइरहदाँ मैले धेरैलाई सोधेँ ‘तँपाई के गर्नुहुन्छ’ भनेर । तर उत्तरमा घरायसी काम र यत्तिकै फोकटमा बस्छु भन्ने मान्छे कति हो कति भेट्टाएँ मैले । यो पनि एउटा अनुसन्धान नै भयो मेरो ।

हामी किन गरिब रहेछौँ भन्ने कुरा झर्लङ्ग सँग बुझेँ मैले, अनी यो पनि बुझेँ मान्छेलाई गरिब बनाउने अर्को बस्तु रहेछ प्रेम । हामी यति सम्मको बुद्धु भयौँ ९० प्रतिशत मान्छेको प्रेम असफल हुन्छ भन्ने स्वामी बिबेकानन्दको भनाईलाई समेत बिर्सेर हामी कस्तो प्रेम गरिरहेका छौँ, जसको कुनै तुक छैन, अह छदै छैन । दुई चार जना मान्छेको प्रेम सफल भएको देखेर मैले पनि सफल बनाउँछु भन्ने डाहा किन गर्छ मान्छे ? यदि डाहा नै गर्नु परे राम्रै कुरामा गर्नु नि । उसले पि.एच.डि गर्यो, मैले पनि गरेर देखाउँछु भनेर कहिलै पनि भन्दैन मान्छेले, तर कसैको प्रेम सफल भएर बिबाहमा पुग्यो भने याद गर्नुस जुनसुकै प्रेमीले पनि मनमनै सोचिरहेको हुन्छ – मेरो प्रेम पनि सफल भए हुन्थ्यो नि भनेर ।

एक दुई ओटा प्रेम सफल हुदैमा मान्छे रोमियो जुलिएट बन्दैनन्, यो त धरहराबाट अण्डा खस्यो फुटेन, के भयो अचम्म भयो भनेजस्तो मात्रै हो । कान खोलेर सुन्नुस प्रेम सम्बन्ध बिबाहमा जाँदैमा त्यो प्रेम सफल भयो भनेर मानिदैन, त्यहाँ त बल्ल प्रेम सुरु हुदै छ, आँखा झिमिक्क नगराई हेर्नुस उसले कति बर्ष सम्म त्यो सम्बन्ध टिकाउन सक्छ । बिबाहको अगाडी प्रेम सम्बन्ध त केही होइन, जाबो अर्कैको पर्सबाट पैसा चोरी चोरी, बाबु आमालाई ठगी ठगी गरेको प्रेम र पैसा नहुदाँ भोकै सुत्नुपरेको बिबाह पछिको प्रेममा कति हो कति फरक देख्छु म । प्रेंम गर्न जत्तिको जिन्दगी कटाउन त्यती सजिलो छैन । प्रेम बिबाह गरेकै कति मान्छेहरुले अलि समय पछि अर्कै मान्छेलाई आँखा लगाएका उदाहरणहरु छरपस्टै छन् मेरो दिमागमा । प्रेममा रहदाँ ति प्रेमीहरुको जति छिटो कुरा मिल्छ, बिबाह भएपछि त्यति नै छिटो झगडा हुन्छ भन्ने कुरा प्रष्टैसँग बुझेको छु मैले । प्रेममा अनुहार राम्रो भएपनि व्यवहार राम्रो हुदैन साथी । यि सबै देख्दा देख्दै संसारको सबैभन्दा खत्तम चिज प्रेम हो भन्ने अड्कलमा पुग्दै छु म, तँपाई पत्याउनुस या नपत्याउनुस प्रेम बिबाहमा, बिबाह भएकै दिन त्यो प्रेमको पूर्ण रुपमा अन्त्य हुन्छ....

के को प्रेम, के को माया बाधक मात्रै हो ।
दुखमा साथ दिने त, मादक मात्रै हो ।।
हा हा तँपाई मान्छेको, कुरा पत्याउनुहुन्छ...
सँगै जिउँछु भन्ने त, नाटक मात्रै हो ।।

(( तिमिसँगै जिउने सपना, बिपनीका झलक भए.................))

मलाई थाहा छ, प्रेमले धेरै कुरा सिकाउँछ । मैले धरै ठाउँमा सुनेको छु प्रेममा परेको व्यक्तिले भरोसा गर्न सिक्छ रे, तर अह मैले यो कुरा फिटिक्कै बुझिन भरोसा गरिएकै व्यक्तिबाट किन बिश्वास घात हुन्छ ? हिजो आज मन चैते हुरीजस्तै काँ हो काँ उडेजस्तो गर्छ, मन भित्रका उकुस मुकुस सबै बढारिएर आउँछ, तर के गरोस फेरी क्षण भरमै मन्थर भएर, म भित्रको म खोज्दै ठपक्क बस्छ, अनी त्यतिनै बेला बुढापाकाले भन्ने गरेको उखानमा मन टक्क अडिन्छ – ‘‘बन डडेको सबैले देख्छन्, मन डडेको कसैले देख्दैनन्’’ त्यसैले होला भित्र भित्रै म पिडामा जलिरहँदा कठै भन्ने कोही भेट्टाउन्न म । जब प्रेसर कुकरमा हावाले ठाउँ नपाउँदा सिठ्ठीको रुपमा हावा बाहिरिए झैँ, कहिलेकाँही धेरै यादहरुको भारीले मन उकुस मुकुस हुदाँ, एक्कासी आँशु बनेर बाहिरीन पुग्दो रहेछ । मलाई धेरैले सोधेका छन् प्रेम के हो भनेर, आज म बताउँछु जब एकान्तमा बस्दा आँखाको नानीबाट टिलपिल–टिलपिल भएर आँशु तप्प तप्प भुँइमा खस्छ नि, हो त्यही भुँइमा खस्ने आँशुको थोपा हो प्रेम । त्यसले मैले आजभोली औधि माया गरेर जतनसित राख्न थालेको छु यसलाई ।

फेसबुकमा एकजना मित्रले स्टाटस लेख्नु भएथ्यो, जुन शब्दले साह्रै एकचित्त बनाउँछ मलाई । उहाँले लेख्नु भाथ्यो – ‘‘हामीले भित्तामा जति शक्ति लगाएर बल हान्छौ, त्यती नै शक्ति लगाएर बल फिर्ता आउँछ । प्रेम पनि यस्तै रैछ दिनेले जति दिन्छ नि, पाउनेले त्यती नपाउँदा असन्तुलन हुदो रहेछ ।’’ मलाई बिगतले सताउँछ बर्तमानले पिरोल्छ र भविश्यले तर्साउँछ, जे गरेपनि सुखै छैन सधै तनाब छ जिन्दगीमा, हो तनाबै तनाब र अभाबै अभाबमा चल्दैछ मेरो दैनिकी ।

चोट दिने र लिने दुबै छन् यहाँ, एकथरी चित्त दुखाउँछन्– अर्कोथरी चित्त बुझाउँछन्, म चाँही चित्त बुझाउनेमा पर्छु । जिबन भनेकै यादहरु सँगालेर बाँच्ने कला त रैछ नि, हाम्री आमाले भन्नुहुन्थ्यो थोरै माया धेरै दिन, धेरै माया थोरै दिन । यो कुरा आमाले मलाई पहिलै बुझाइदिएको भए, या मैले आफै बुझेको भए यो पहाडले किचेको जिन्दगी बोकेर कहाँ बाच्नु पथ्र्यो र । खैर केही छैन बाटो बिराउनेहरु पनि त आखिर बाटैमा त भेटिन्छन् नि । हाँस्ने ओठ भन्दा रुने आँखा माथी भएकोले होला, सधै आफु माथी भएको प्रभुत्व जमाउन खोजिरहन्छ आँखाले । अब्राहम लिङ्कनले आफ्नो छोरा पढ्ने बिद्यालयका प्रिन्सिपललाई लेखेको चिठीको एउटा वाक्य सधै सम्झीरहन्छु म उनले भनेका थिए ‘‘मेरो छोरालाई दिल खोलेर हाँस्दा हाँस्दै गम्भीर हुन कति जरुरी छ भन्ने कुरा पनि सिकाइदिनुहोला, तर मैले भने थाहै नपाई यो वाक्य लागु गर्न पुगेछु ।

मैले पनि बनाएको थिएँ, ढुक्क जिन्दगी ।
दुख पर्दा सम्हालिन्थ्यो, सुटुक्क जिन्दगी ।।
तर आज मायाको, भिक माग्ने भइयो...
मरि मरि बाँच्नुपर्ने, थुक्क जिन्दगी ।।

(( ढुक्क थिएँ तिमी नै हौ, मलाई माया दिने धेरै........................))
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter